गृहपृष्ठ

शंकर बाबु अधिकारी कार्यालय प्रमुख ... View more...
सुदिप कडेल सुचना अधिकारी ९८४६४७९१२० View more...

हाम्राेबारे


जिल्लाको संक्षिप्त परिचयः

तनहुँ जिल्ला नेपालको राजधानी काठमाडौ देखी ११० कि.मि. पश्चिम तर्फ, गण्डकी प्रदेशको राजधानी पोखरा देखी १७ कि.मि. पूर्व तर्फ १५६४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको सुन्दर पहाडी जिल्ला हो । यस जिल्लाको पूर्व तर्फ चितवन जिल्ला दक्षिणमा नवलपुर र पाल्पा जिल्ला पश्चिम तर्फ स्याङ्जा र कास्की जिल्ला र उत्तरमा लमजुङ र गोर्खा जिल्ला पर्दछ । यस जिल्लालाई दक्षिणमा कालीगण्डकी नदी पूर्वमा त्रिशुली नदी र उत्तरमा मरस्याङ्दी नदीले अन्य जिल्लालाई छुट्याएको छ । जिल्ला भित्र वहने मुख्य नदीहरुमा मर्याङ्दी (शितप्रभा), मादी(माहिन्द्री गंगा), सेती (शुपर्णभा), कालीगण्डकी(कृष्ण गण्डकी), दरौदी (विश्वधरा) र त्रिशुली(कर्मधरा) रहेका छन् भने पहाडी श्रृखलाहरुवाट उत्पति भई वहने मुख्य खोलाहरुमा सागे क्याङ्दी चुदी खोला कलेस्ती रिस्ती गुणादी म्याग्दे कुम्ले जिलाङ खोला भुतखोला सुरौदी खोला पाउदी खोला ढाँडखोला आदि पर्दछन् । जिल्लाको सवैभन्दा होचो स्थान देवघाट (२१७) मि. र अग्लो स्थान छिम्केश्वरी पहाड (२१३४) मि. सम्म रहेको छ। विभिन्न नदीनाला तथा खोलाहरुले वनाएका विभिन्न टार फाट तथा खेती योग्य वेशीहरुले जिल्लालाई उर्वर वनाएको छ । कालीगण्डकी नदी र त्रिशुली नदीको संगम देवघाट धाम यस जिल्लाको मात्र नभई देश तथा विदेशमा समेत प्रसिद्ध रहेको छ । यसका साथै तनहुँ जिल्लामा छाब्दी वाराही मन्दिर, ढोरवाराही मन्दिर, आधिमुल, ब्यास ऋषिको जन्मस्थल ब्यास गुफा, पाञ्चायन मन्दिर, पराशर आश्रम, च्यवन धाम, तिनखोले मन्दिर, अकला मन्दिर, छिम्केश्वरी माईको मन्दिर, वसन्तपुर थानीथान मन्दिर, गुणादी वाराही मन्दीर, किल्चोक अकला मन्दिर लगायत विभिन्न मन्दिर तथा धार्मिक क्षेत्रहरु रहेका छन्। वन्दीपुर वजार तनहुँसुर दरवार मानहुँकोट मिर्लुङकोट पुलिमर्याङ छिपछिपे मुच्चोक छिम्केश्वरी काफलडाडा भुजिकोट रजस्थल फिरफिरे ऋषिङ गलेखामकोट हिलेखर्क जस्ता पर्यटकिय हिसावले महत्वपूर्ण स्थानहरु यसै जिल्लामा पर्दछन्। मिलेनियम गुफा सिद्ध गुफा ब्यास गुफा चमेरे गुफा लगायत विभिन्न गुफा तथा ओडारहरु तनहुँ जिल्लाको महत्वपूर्ण चिनारी रहेको छ । जिल्लाका अन्य पर्यटकिय स्थानहरुमा भानुभक्तको जन्मस्थान चुदी रम्घा भानु घासी पार्क घाँसीकुवा घुमाउरी घाट (नवलपुरको सिमाना) छरछरे झरना घाङ्च ल्हुम(अग्लो ढुंगा) पार्क भिमाद आदि रहेका छन् । जिल्लामा पर्यटक आगमनलाई सदैव स्वागत गर्न करिव ५० को हाराहारीमा सामुदायिक होमस्टेहरु संचालन रहेका छन् । यसका साथै जिल्लाका प्रमुख शहर तथा वजारहरुमा सुविधासम्पन्न होटल रिसोर्टहरु संचालनमा रहेका छन् । हाल वन्दीपुर सम्म पुग्न केवलकारको निर्माण अन्तिम चरणमा छ भने छिम्केश्वरी सम्म जान केवुलकार निर्माणको सम्भाव्यता अध्ययन भैरहेको छ । नेपालको महत्वपूर्ण विद्धुत केन्द्र मरस्याङ्दी पावर हाउस यसै जिल्लामा निर्माण भई धेरै पहिल्यै देखी संचालनमा आएको हो । यि विभिन्न कारण तथा अवस्थाका कारण तनहुँ जिल्ला देशको गौरबको जिल्लाको रुपमा रहेको छ  संघिय संरचना संगै तनहुँ जिल्लालाई विभिन्न १० वटा पालिकाहरुमा विभाजन गरिएको छ । ब्यास भानु शुक्लागण्डकी भिमाद नगरपालिकाका रुपमा रहेका छन् भने म्याग्दे आवुखैरेनी वन्दीपुर देवघाट ऋषिङ र घिरिङ गाउँपालिकाका रुपमा रहेका छन् ।  २ जना प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र भएको यस जिल्लामा ४ वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र रहेको छ । २०२५ साल भन्दा अगाडी वन्दीपुर जिल्लाको सदरमुकामको रुपमा रहेको थियो भने सो पछाडी दमौली बजार यसको सदरमुकाम रही आएको छ । विश्व मानचित्रमा यो जिल्ला ८३°७५ देखि ८४°३४ पुर्बो देशान्तर २७°३ देखि २८°०५ उत्तरी अंक्षाम्समा फैलिएको छ ।यसको क्षेत्रफल १५४६ वर्ग कि मि अथवा कुल नेपालको भुभागको १.०५% रहेको छ ।

      जनसाख्यिक रुपले ब्याख्या गर्दा कुल जनसंख्या जम्मा ३२३२८८ जना रहेको छ भने कुल महिला १७९८७८ पुरुष १४३४१० जना रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँ जिल्लाको कूल जनसङ्ख्या ३,२३,२८८ जना मध्ये पुरुष १,४३,४१० जना र महिला १,७९,८७८ रहेका छन् । जिल्लाको जनघनत्व २०९ प्रति कि.मि छ भने ग्रामिण जनसङ्ख्या १,८७,८८२ रहेको छ। जिल्लामा सवै भन्दा धेरै मगर जातिको वसोवास रहेको छ । यस संगै क्षेत्री वाहुन गुरुङ नेवार कामी दमाई मुसलमान सार्की ठकुरी सन्यासी दरै कुमाल वोटे राई चेपाङ भुजेल आदी जातीको वसोवास रहेको छ । जिल्लामा लोपोन्मुख कुसुण्डा जातिको सन्तानहरु समेत वसोवास गर्दछन् ।

स्वास्थ्य सेवाको हिसावले यो जिल्ला औषत जिल्लामा पर्दछ । स्थापना भई संचालनमा रहेको तर भौतिक पूर्वाधार वन्न वाकी नै रहेको देशको प्रमुख जि पि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको निर्माण सम्पन्न हुना साथ स्वास्थ्य क्षेत्रको नया गन्तव्यको रुपमा तनहुँ जिल्ला पर्ने निश्चित नै छ । हाल गण्डकी प्रदेश सरकारले शुक्लागण्डकी वरपर सुविधा सम्पन्न अस्पताल संचालन गर्न अध्ययन गरिरहेको समेत पाईएको छ । जिल्ला सदरमुकाम दमौलीमा ५० शैयाको प्रदेश अस्पताल संचालनमा रहेको छ । अन्य अस्पतालहरुमा वन्दीपुर अस्पताल पुरनडिही प्रा स्वा के भिमाद प्रा स्वा के संचालनमा छन् । स्थानीय पालिकाहरुले आफ्नै अग्रसरतामा अस्पताल स्थापना गरी सेवा शुरु गरेका छन् । यिनमा आवुखैरेनी अस्पताल आवुखैरेनी धर्मार्थ अस्पताल देवघाट भानु नगर अस्पताल ब्यास नगर अस्पताल समेत स्थानीय पालिकाहरुको अगुवाईमा स्थापना भई २४ सै घण्टा डाक्टरको उपलब्धता हुने गरी संचालनमा रहेका छन् । यसै गरी नीजि स्तरमा आवुखैरेनी डुम्रे तुरतुरे शुक्लागण्डकी म्याग्दे दमौली भिमाद घिरिङ दमौली लगायतका शहर तथा वजारमा अस्पताल एवं पोलिक्लिनिक संचालनमा रहेका छन् । यातायातको सर्भसुलभताले गर्दा जिल्लावासीहरुले गम्भिर रोग तथा दुर्घटनाका घटनामा पोखरा चितवन तथा काठमाडौका सुविधा सम्पन्न अस्पतालहरुमा उपचारको लागि जाने अवस्था रहेको छ।